
असोज ११ आइतबार
सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका–४ स्थित ग्यालेक्सी ई बोर्डिङ स्कुलमा शिक्षक-शिक्षिकाहरूका लागि एक दिने एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक-शिक्षिकाहरूलाई आधुनिक प्रविधिसँग अभ्यस्त गराउँदै शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा प्रशिक्षक कृष्ण आचार्यले सहजीकरण गर्नुभएको थियो। उहाँले उपस्थित शिक्षक शिक्षिकाहरूलाई प्रविधिमैत्री शिक्षणका लागि आवश्यक पर्ने विभिन्न नवीन एआई टुल्स (AI Tools) हरूको प्रयोग र कक्षाकोठामा यसको व्यावहारिक अभ्यासका बारेमा विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षक आचार्यले परम्परागत शिक्षण विधिलाई परिमार्जन गर्दै प्रविधिको अधिकतम प्रयोगबाट विद्यार्थीको सिकाइलाई कसरी रोचक र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा जोड दिनुभएको थियो।

विश्वव्यापी रूपमा सूचना प्रविधि र एआईको प्रयोग तीव्र गतिमा बढ्दै गइरहेको सन्दर्भमा, विद्यार्थीहरूलाई समयसापेक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्न यो तालिम निकै फलदायी हुने विद्यालयले विश्वास लिएको छ। तालिममा सहभागी शिक्षक-शिक्षिकाहरूले नयाँ प्रविधि सिक्न पाउँदा उत्साह व्यक्त गर्दै, सिकेका प्रविधिमैत्री टुल्सहरूलाई आफ्नो दैनिक कक्षाकोठामा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।

