सैनामैना । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मुर्गिया शाखाको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सैनामैना नगरपालिका–६ स्थित शिवालय मन्दिर परिसरमा सम्पन्न सभामा सैनामैना नगरपालिका–११ का वडा अध्यक्ष रामप्रसाद भुसाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै भुसालले सहकारीको प्रगति तथा छरितो कार्यप्रणालीको प्रशंसा गर्दै आफू संस्थाको प्रशासनिक कार्यप्रणालीप्रति सकारात्मक रहेको बताउनुभयो।
विशिष्ट अतिथि सैनामैना नगरपालिका–३ का वडा अध्यक्ष तामबहादुर पुर्जाले संस्थाको आगामी यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार श्यामलाल खरेलले सहकारीका आगामी योजनाबारे जानकारी गराउनुभएको थियो।
त्यस्तै, सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमन्त थापाले संस्थाका सकारात्मक पक्षको चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभयो।
सभामा मुर्गिया शाखा प्रमुख लीलाकुमारी थापाले शाखाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सहभागी शेयर सदस्यहरूमध्ये गोला प्रथाबाट ६ जनालाई पुरस्कार प्रदान गरिएको शाखा प्रमुख बासु अर्यालले जानकारी दिनुभयो।
कार्यक्रममा वक्ताहरूले जनउत्थान साकोस आफ्ना सहकारी सिद्धान्त तथा शेयर सदस्यहरूको हितप्रति प्रतिबद्ध रहेको बताएका थिए।
सभामा स्थानीय कलाकार डिबी सिङजाली तथा हरैया बहुमुखी क्याम्पसका प्राध्यापक केबी धुवातेले मुक्तक प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो।
शाखा संयोजक लीलाकुमारी थापाको अध्यक्षता, वडा नं. ११ का अध्यक्ष रामप्रसाद भुसालको प्रमुख आतिथ्यता र वडा नं. ३ का अध्यक्ष तामबहादुर पुर्जाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका सल्लाहकार, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र उल्लेख्य संख्यामा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
उपसमिति सदस्य ज्योति कार्कीको स्वागत मन्तव्य तथा सञ्चालक समिति सदस्य रीता भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।


